×

नेपाल प्रबासी तामाङ समाज कतार द्वारा स्थापित शैक्षिक बिकास कोष।


प्रारम्भ
परिबर्तित समय आफैमा चलयमान छ, न कसैले रोक्न सकिन्छ, न त छेक्न नै सम्भव छ । केबल हामी त समयको पछि–पछि दौडने धावक मात्र हो बाचुन्जेल दौडी रहने । थकानलाई बिर्सेर दौडने क्रममा हामी मरुभुमी बिचको सुन्दर शहर दोहाको कतारसम्म आइपुग्दा पनि हामीले हाम्रो धर्म, सस्कार, साहित्य, कला जस्ता पहिचानमुखी बिषयहरुलाई आत्मसाथ गर्न पाउनु नितान्त सौभाग्यमय पक्ष हो । बिश्व जगतलाई नै बिभिन्न दृष्टिकोणबाट नियाल्ने हो भने बिशेष गरि धार्मिक, सास्कृतिक र मौलिकता जस्ता परम्परागत प्रचलनहरु अदृष्य तबरले दिन प्रतिदिन बिलय हुदै गईरहेको अवस्था हो । यहॉ मौलिक स्वतन्त्रता भन्ने तथाकदति सिदान्तले गर्दा अब यस्ता बिषयहरुमा कसैले कसैलाई रोकेर नरोकिने र सम्झाएर सम्झिने अवस्थामा छैन । तथापि, तामाङ समुदायहरु बिश्वको कुनै पनि कुनामा पुगे पनि हाम्रो पहिचानमुखी मौलिकतालाई प्रथमिकता दिएको पाउदॉ यो नै सबैभन्दा ठुलो सकारात्मक पक्ष हो र गर्बको बिषय हो यो हामी ठोकेरै भन्न सक्छौं ।


यस अर्थमा पनि हामी तामाङहरु धार्मिक, सास्कृतिक, हिसाबले धनि छौं र यस्ता बिषयहरुलाई आत्मसात गर्दै बिश्वभरिका तामाङ समुदाय एक हुनु जरुरी छ । सम्भवतः अग्र अभियन्ता नेपाल प्रबासी तामाङ समाज कतारले पनि यस्तै सामाजिक कार्यहरुलाई मुख्य दायित्वका साथ अबलम्बन गर्ने महान उदेश्यका साथ सन् २००५ मा स्थापना गरेर बर्तमान अवस्थासम्म आइपुग्दा सामाजिक कार्य मात्र नभई आर्थिक उन्नतीको लागि सामुहिक लगानीको बिश्वब्यापी अबधारणा, राजनितिक पहुच अभिबृद्धी गर्न राजनैतिक सलंगनता, खेलकुद, भाषा साहित्य, कलाकारिता देखि लिएर शैक्षिक बिकास कोष समेत खडा गरि शैक्षिक क्षेत्रलाई पनि अग्र स्थानमा राखि शिक्षाद्धारा कुनै पनि तामाङहरु बिमुख नहोस् भनि विभिन्न सघं, सस्था एबम बिशिष्ट ब्यक्तिहरुसगको साझेदारीमा आजको समय सुहाउदो कार्यहरु निरन्तर रुपले गर्दै आईरहेका छौं ।
नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान अनुसार जनसंख्याको हिसाबमा तामाङ जातिले पाँचौ स्थान ओगटेको छ जसमा कुल जनसंख्या १,५३९,६३० र ५.८१ प्रतिशत छ भने भाषा बक्ताको हिसाबले पनि पाँचौ स्थान मै रहेको छ । तर साक्षरताको हिसाबले भने यो जाति ५८ औं स्थानमा छ र कुल तामाङ साक्षरता जनसंख्या ८७६,९०१ रहेको र साक्षरता दर ६२.५ प्रतिशत मात्र देखिन्छ । यस तथ्याङ्कले हामी तामाङ जातिहरु शिक्षाको उज्यालो घामबाट बिमुख रहेछ भन्ने बुझिन्छ । आर्थिक हिसाबले पनि तामाङ जातिहरु निकै कमजोर भएको कारणले नै शिक्षा, राजनिति, स्वास्थ्य जस्ता महत्वपुर्ण बिषयहरुमा उच्च हैसियत जमाउन नसकेको प्रष्टै छ । शहरीकरण र सुचना प्रबिधिको तिब्र बिकास सँगै गत दश बर्षको अबधिमा तामाङ जनसंख्याको १२.११ प्रतिशत अर्थात १८६,५१९ जना तामाङहरुले आफ्नो भाषा भुलि सकेको छ । यसको मुख्य कारण नै तामाङहरु अशिक्षित र जानकारहरु पनि तथाकथित घमण्डको उपजले नै हो भन्ने मेरो ठम्याई हो । मातृभाषामा शिक्षा हरेक जनजातीहरुको रहे पनि राज्यसत्ताले तामाङका छोराछोरीहरुलाई मातृभाषामा शिक्षा प्रदान गर्न चाहिरहेको छैन । फलस्वरुप, बर्तमान परिस्थितीलाई नै औषत मुल्यांकनबाट नियाल्ने हो भने अबको केहि दशकमै हाम्रो मौलिकता विलय हुनेमा कुनै शंका छैन र यसको दोषी पनि हामी नै हुनेछौं । यदि यसो हो भने तामाङ समाज भित्र रहेर अग्रज अथवा बुद्धिजीवि मात्र भनेर नाक ठुलो पार्नुको कुनै अर्थ रहने छैन । सविंधानले समावेशी र समतामुलक समाजका साथै समानुपातिक प्रतिनिधित्वको प्रवधान गराए पनि धेरै तामाङ शक्तिहरु केन्द्रिय स्तरसम्म पहुच पुर्‍याउन नसकेको र भलै पुगे पनि बिविध स्वार्थका कारण अडकिएको पनि पुर्ण शिक्षित नभएर नै हो कि भन्ने लाग्छ वा तामाङ प्रतिको आत्मिय मोह र मातृ स्नेहको धमिलो महशुषमय सामाजिक प्रपञ्चले पनि हो कि भन्ने आकंलन गर्न सकिन्छ ।


तामाङ समुदायभित्र मातृभाषाको शिक्षालाई अधिराज्यव्यापी बनाउन नसक्नुको कारण पनि अझैसम्म बिद्यालय शिक्षा प्रणाली स्थानिय सरकारको अधिकार भित्र सिमित भएर नै हो । अर्को दुखको कुरा हामी तामाङहरु पनि धेरै ठाउँहरुमा हाम्रो आफ्नो भाषा बोल्न लाज लाग्ने प्रबृत्ती बिशेष गरि शिक्षित बर्गहरुमै यत्रतत्र देख्न पाईन्छ । अब यस्ता कमजोरीहरुलाई सुधार्ने जिम्मेवारी कस्को हो त र कहिले देखि हाम्रो आफ्नो मातृभाषा निर्धक्कसँग बोल्न तयार हुने त ? हो हिजोको दिनहरुमा हेपे, दबे र सहे पनि तर अब त संसार नै सुचना प्रबिधिले गर्दा नसोचेको परिवर्तन भई रहेको छ, संसार नै सानो महशुस भई सकेको छ अनि अझै शिक्षाबाट हामी बन्चित भइरहने हो भने त्यो भन्दा ठुलो दुर्भग्य हुनै सकिदैन । तसर्थ अबका दिनहरुमा तामाङ जातीहरुले सम्भव भएको हरेक क्षेत्रहरुबाट पुर्णरुपले दरो र खरो तरिकाले उपस्थित हुनु जरुरी छ । शैक्षिक जनचेतना एबम मातृभाषा सम्बन्धि शिक्षाको महत्वको बारेमा हामी जस्तै जान्ने–सुन्नेहरुले यथोचित तबरमा जानकारी दिन सक्यौ भने भोलिका दिनहरुमा पनि हामी तामाङहरु गर्बका साथ असली तामाङ भएरै गर्बका साथ हिड्न सकिने छ । तपाईहरुलाई जानकारी होस् कि मातृभाषाको शिक्षामा पहुँच अभिबृद्धि गरेर तामाङ चेतनामा सकारात्मक परिवर्तन ल्याउने र तामाङ पहिचानको मनोबिज्ञानलाई बलियो बनाउदै सचेत र समृद्ध समाजको निर्माण गर्ने योजना रहेका छ । यसै बमोजिम भविष्यमा तामाङहरुको सोचहरुलाई अनाबश्यक बिचलनहरुबाट बिमुख पार्न साच्चिकै नितान्त दिर्घकालिन परिकल्पनाको प्रशस्त अभ्यास गर्न हाम्रो अभिभारा आएको छ ।
तामाङ ज्ञान, स्मरण, कलाकौशल, सास्कृतिक सम्पदा जस्ता बिषय बस्तुहरुको जगेर्ना, सम्बंर्दन, संरक्षण जस्ता कार्यहरुलाई प्राथमिकतामा राख्न हरेक स्थानहरुबाट सुरुवात गर्नु नै उपयुक्त मार्ग हो । तामाङ भाषाको आमसञ्चार र शिक्षा प्रयोगले पुर्ण रुपमा ठोस रुप लिन नसकेकोले प्राथमिक तहमा मात्रृभाषाले प्रवेश पाए पनि माध्यमिक तह र उच्च शिक्षा तहसम्म तामाङ भाषाको प्रयोग गराउन बैधानिक रुपमा सकिएको छैन । अब पनि ढिला भएको छैन कि तपाई हामीहरु जस्तै सचेत तामाङ समुदायहरु मिलेर समाजको निम्ति अत्याधुनिक प्रविधि सम्पन्न तामाङ मातृभाषाका स्कुलहरु सर्वसुलभ ढङ्गबाट स्थापना गर्नु अहिलेको आबश्यकता हो । अर्को ठुलो गल्ति अझै पनि हामीहरुले के गर्दै आई रहेको छ भने त्यो हो स्वरोजगारको घेराबाट बाहिर रहेर नै रमाउने र अरुको ब्यावसायमा सेवा गरि केवल पुग–अपुगको जिवन जिउने । वास्तवमा अर्काको सेवा र नोकरी गरेर हामीले आशा गरे अनुरुपको आर्थिक समृद्ध हुन मुश्किल छ । तसर्थ हामी तामाङहरु एकजुट भएर सामुहिक लगानीको अबधारणा अनुरुप राज्यद्धारा प्रबल सम्भावना देखिएको क्षेत्रमा लगानी गरेर आर्थिक पहुचको अभिबृद्धि गर्न सजिलै सकिन्छ । एवमरितले हाम्रो समृद्धि हामीले नै सम्भव बनाउन कुनै चट्टान फोर्नु पर्ने जस्तो त देखिदैन । तसर्थ, म शैक्षिक बिकास कोषको संयोजकको हैसियतले भन्न चाहन्छु कि शिक्षा नै सफल जीबनको सबै भन्दा ठुलो खम्बा हो । हामीले हाम्रा नयॉ पुस्ताहरुलाई समय अनुसारको उपयुक्त शिक्षा लिने वातावरण र स्थानहरुको स्थापना गरेर राख्यौ भने पक्कै पनि बर्तमानमा हामीले सोचेको र भोगेको यस्ता अप्ठेराहरुसगँ पौठाजोरी खेलिरहनु पर्ने छैन ।

शैक्षिक बिकास कोषको दिर्घकालिन उदेश्यहरु तथा भाबि योजनाहरु :
शैक्षिक विकास कोषको उदेश्यहरु भन्नाले नेपाल प्रबासी तामाङ समाज कतारको पूर्ण मातहात र सरक्षकत्वमा स्थापित बिभिन्न बिभागहरु मध्ये एक बिभागको रुपमा बिस्तारित बिभाग हो | मुख्य गरि निम्न बमोजिमका उदेश्यहरुलाई बुदागत रुपमा अबगत गर्न सकिन्छ :
१. मातृ भाषाको शिक्षालाई प्रोत्साहन तथा प्रबर्धन : बर्तमान अबस्था सम्म आइ पुग्दा मातृभाषाको शिक्षा प्राथमिक तहसम्म मात्र सरकारले व्यवस्था गरेपनि अझै पूर्ण रुपले तामाङ बसोबास गर्ने ग्रामिण भेगहरुमा लागु गर्न नसकेको हुनाले अब विभिन्न संघ, संस्था, ब्यक्ति, बुद्धिजिबी वर्ग, लगायत सम्भावित सम्पूर्ण सुचना माध्यमबाट जनचेतनामुलक कार्यक्रमहरु गरेर तामाङ भाषाको शिक्षामा प्रोत्साहन गराउने र सोहि अनुरुपको वातावरण तयार गरि दिने | न्यून आय वा आर्थिक असक्षमता परिवारहरुको बाल बच्चाहरुलाई निशुल्क पाठ्यपुस्तक वितरण गरेर र अन्य आबश्यक शक्षिक सामाग्रीहरु उपलब्ध गरि तामाङ भाषाको शिक्षालाइ प्रबर्धन र अबलम्बन लागु गराउने उदेश्य मुख्य रहने छ |
२) द्वन्द पिडित, अपाङ्ग, टुहुरो र प्राकृतिक बिपति आदिमा परेका बालबच्चाहरुलाई सहयोग : तामाङ समुदायमा शैक्षिक पहुच उच्च बनाउने योजना अनुरुप द्वन्द पिडित, अपाङ्ग, टुहुरो र प्राकृतिक बिपति आदिमा परेका बालबच्चालाई वास्तबिक अबस्थाको गम्भीर अध्ययन अनुसन्धान गरि उचित सहयोग गर्ने र आबश्यकता अनुसार अन्य संघ-सस्था, ब्यक्ति लगायतलाई सहयोगको निम्ति उत्प्रेरित गराउने साथै स्रोतको खोज गरि नेपालको सरकारी स्तरबाट पनि पाउनु पर्ने सहयोग जुटाउने कार्यमा लाग्ने |
३) सरकारी स्रोत-साधन र आर्थिक हिस्साको पूर्ण उपभोग : मातृ भाषामा बोल्ने मात्र होइन अध्ययन पनि गर्न पाउने बर्तमान सरकारको नीति अनुसार तामाङ्गहरुको बढी जनघनत्व भएको स्थानहरुमा शतप्रति शत सरकारी श्रोत - साधन र आर्थिक अनुदानकै पूर्ण उपयोग गराउने र नपुग हुने बिषयमा मात्र सस्थागत निर्णय गरि र अन्य श्रोतको खोजि गर्दै उपलब्ध गराउने साथै स्थानीय शिक्षित तामांग युबाहरुलाई नै रोजगारिको अवसर संगै मातृ भाषामा पठन पाठन गराउने उदेश्य रहने छ |
४) तामाङ भाषामा पाठशाला (लोप्खाङ्) को स्थापना : तामाङहरुको भाषा, सस्कृति, सम्पदा, राजनैतिक पहुच, आर्थिक उन्नति जस्ता पक्षलाई प्रतिस्पर्धात्मक हसियातले बलियो र जीवित राख्न तामाङ भाषामा पाठशाला (लोप्खाङ्) को स्थापना गरि सरल-सहज स्तरको मातृ भाषाको शिक्षा दिने उदेश्य रहेको छ | नितान्त न्यून आय भएका तामाङहरुको बाल-बच्चाहरुलाई सकेसम्म बिभिन्न दाताहरु जुटाई लाग्न सक्ने शैक्षिक शुल्कमा न्यूनीकरण गरि अनिबार्य स्कुल जानु पर्ने वातावरणको सिर्जना गर्ने मुख्य बिषय अन्तर्गत रहनेछ साथै शैक्षिक प्रणालीमा आत्याधुनिक सिदान्तको प्रतिवादन गर्दै अन्तरास्ट्रिय स्तरको पाठशाला र एबम रितले विश्व बिध्यालय संचालन गरि मातृभाषी बिद्यार्थीहरुलाई सरकार द्वारा उच्च स्तरको शिक्षासम्म पूर्ण रुपले निशुल्क गर्न र गराउन आबश्यक कदम चालेर नेपालको सम्पूर्ण प्रदेशहरुमा निशुल्क तरिकाले पठन पाठन गर्ने गराउने |


५) तामाङ समुदायमा रास्ट्रिय एबम अन्तरास्ट्रिय स्तरको ख्याति प्राप्त र उच्च शिक्षाबाट दिक्षितहरुलाई सम्मान : बिशेष गरि तामाङ युवाहरुलाई समाज र देशका लागि केहि काम गर्नु पर्छ भनेर प्रोत्साहित गराउने उदेश्य स्वरूप समय सान्दर्भिकतालाई मिलाएर तामाङ समुदायमा रास्ट्रिय एबम अन्तरास्ट्रिय स्तरको ख्याति प्राप्त र उच्च शिक्षाबाट दिक्षितहरुलाई सम्मान गर्ने |
६) तामांग भाषाको पाठ्य पुस्तक, मातृ भाषाको बाल शिक्षाको लेखन-छापन र पठन-पाठनमा समन्वय : प्रत्यक्ष-अप्रत्यक्ष रुपले तामांग भाषाको पाठ्य पुस्तक, तामाङ भाषाको साहित्य, मातृ भाषाको बाल शिक्षाको लेखन-छापन र पठन-पाठनमा समन्वय गर्नु हाम्रो अर्को ठुलो जिम्मेवारी हो | चाहे आर्थिक होस् या नैतिक रुपले सहयोग, आबश्यकता बमोजिमले समन्वय एबम एक्यबद्धता जनाउदै निरन्तरता दिन लगाउने भूमिका हाम्रो उदेश्य हो |
७ मातृ भाषाको प्रशिक्षण र eflifs चेतनामुलक कार्यक्रम : दिन प्रतिदिन ह्रास हुदै गइ रहेको भाषिक विचलनले गर्दा तामाङ भाषा सधै चपेटामा गर्ने गरेको छ तसर्थ शैक्षिक बिकास कोषको प्रत्यक्ष सहभागितामा बिभिन्न स्थानहरुमा मातृ भाषाको प्रशिक्षण र जनचेतनामुलक कार्यक्रम सम्पन्न गरि तामाङ युबाहरुलाई लाभान्वित गराउने | समाजको निम्ति सामाजिक पुर्बाग्राहिको भावनाले योगदान दिनुहुने सबल प्रशिक्षक र जनचेतनामुलक अभियन्ताहरुलाई प्रोत्साहन हुने किसिमको सम्मान गर्ने |

शैक्षिक बिकास कोषको स्थापनामा एकता, आजको आबश्यकता :
विश्व जगतमा दिन प्रतिदिन भै रहेको परिबर्तन तथा बिकासका अध्यायहरुलाई सम्क्षिप्त रुपले समिक्षा गर्ने हो भने अन्तत एकताले खेलेको भूमिकालाई नै मुख्य मान्न सकिन्छ | एकता एउटा अविछिन्न रुपले निर्मित असाधारण बल वा शक्ति हो भने भाबी दिनहरुमा शैक्षिक बिकास कोषद्वारा लिएको दिर्घकालिन उदेश्यहरु तथा भाबि योजनाहरुलाई पनि बिश्व भरि छरिएर बसोबास गर्ने तामाङ समुदायहरु र तामाङ, संघ, सस्थाहरुसंग उचित सर-सल्लाह अनुसार अनिबार्य शैक्षिक बिकास कोष खडा गर्न प्रोत्साहित गराउदै संयुक्त अबधारणा प्रस्तुत गर्ने र संयुक्त रुपले नै आर्थिक साथै सामाजिक एकता अबलम्बन गरेर समाज र मातृ भूमिका निम्ति उल्लेखनीय कार्य बिस्तार गर्न सदैब कटिबद्द हुनको लागि शैक्षिक बिकास कोषमा एकता आजको आबश्यकता भन्ने महशुश भएकोछ | यस किसिमको एकताले कुनै पनि कार्य सफल गर्न सानो सहयोगले नै धेरै उदाहरणीय कार्य गर्न सकिनेमा हामी दुइ मत छैनौ |

नेपाल प्रबासी तामाङ समाज कतारको सम्रक्षकत्वमा रहेको यस शैक्षिक बिकास कोषको अबधारणा अन्तर्गत बिश्व भरिकै शैक्षिक बिकास कोषलाई लक्षित गरि आन्तरिक एबम बाह्य तबरले सदैब जोड्न सजिलो होस् भन्ने अभिप्रायले काठमाडौंमा केन्द्रिय सम्पर्क कार्यालयको स्थापना गर्ने लक्ष्य लिएको छ |

यस केन्द्रिय सम्पर्क कार्यालयमा आबश्यकता अनुसारको स्वयम सेवक कर्मचारी रहने गरि नेपाल सरकारसँग सम्बन्धित समन्वय, अन्य प्रस्तावित परियोजनाहरु र कानुनि लगायत बैधानिकताको बिषयहरुलाई पुरा गर्ने र विश्व भरि आबदत्ता शैक्षिक बिकास कोषहरुको आधिकारिक ब्यक्ति र सस्थागत समन्वय गर्ने प्रमुख कार्य हुने छ |

आर्थिक सहयोगको लागि आबश्यक ठेगाना :
नेपाल प्रबासी तामाङ समाज कतारको संरक्षकत्वमा रहेको यस शैक्षिक बिकास कोषमा विश्व भरिकै तामाङ तथा गैर तामाङहरुले निम्न बमोजिमको आधिकारिक बैक ठेगाना मार्फत आर्थिक सहयोग गर्न सक्नु हुनेछ |
आर्थिक सहयोगका लागि बैंकको ठेगाना :
बैंकको नाम : Nepal Credit & Commerce Bank LtD (NCC Bank),Ramhiti Branch
खाताको नाम : Netra Kumar Waiba/Gautam Tamang
खाता नम्बर : 1070000065113

अन्तमा, तपाइँहरुको यो सानो सहयोगले शिक्षाको किरणबाट बन्चित तर भोलिका कर्णधार बाल बच्चाहरुले अध्ययन गर्ने मौका मिल्नेछ र यो मानबिय कामसंगै तपाईको जिबनको महान कार्यको हिस्साको रुपमा रहेर सदा हामी तपाईलाई स-हृदय आभार समर्पण गर्नेछौ |ल्हानन थुचेजे, धन्यबाद।


नर बहादुर घिसिङ तामाङ
सम्पर्क : +974 66163875 (VIBOR/IMO/Whatsapp)
ई-मेल : nar.chhimeki@yahoo.com
संयोजकःशैक्षिक बिकास कोष
नेपाल प्रबासी तामाङ समाज कतार
दोहा कतार

सम्बन्धित खवर